रूस–युक्रेन युद्धले पुनः एक पटक नयाँ मोड लिएको देखिन्छ। कुर्स्क क्षेत्रको झडपमा रूसी नौसेनाका वरिष्ठ अधिकारी मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको पुष्टि भएपछि, युद्धको गम्भीरता र असरबारे अन्तर्राष्ट्रिय समुदाय चिन्तित देखिन्छ। गुदकोभ, जो रूसी नौसेनाको स्थल तथा तटीय सेनामा उपप्रमुखको रूपमा कार्यरत थिए, कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको भीषण मुठभेडमा मारिएको पुष्टि रूसी अधिकारीहरूले गरेका छन्।
उनको निधन पुष्टि गर्दै प्राइमोर्स्की क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोले भावुक सन्देश दिएका छन्—”उहाँले आफ्नो जीवन राष्ट्र सेवामा समर्पण गर्नुभयो।” यो घटनाले रूसको सैन्य नेतृत्वमै ठूलो धक्का दिएको छ। गुदकोभ जस्तो अनुभवी अधिकारीको मृत्यु, खासगरी हालै मात्र उच्च जिम्मेवारीमा उक्लिएको अवस्थामा, रूसी पक्षका लागि रणनीतिक तथा मनोवैज्ञानिक रूपमा चुनौतीपूर्ण मानिएको छ।
रूसी रक्षा मन्त्रालयले उनी कुर्स्कमै ज्यान गएको उल्लेख गरे तापि घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। गुदकोभ यसअघि चर्चित १५५औं ब्रिगेडका कमान्डर थिए, जसले युद्धको अग्रपंक्तिमा लामो समय बिताएका थिए। यिनको अनुभव र नेतृत्व क्षमताको मूल्यांकन गर्दै राष्ट्रपति पुटिनले यही मार्च महिनामा उनलाई नौसेनाको प्रमुख पदमा पदोन्नति गरेका थिए।
कुर्स्क क्षेत्र रूसको पश्चिमी सीमा नजिकै रहेको संवेदनशील इलाका हो, जहाँ पछिल्ला महिनामा युक्रेनी सेना र रूसी फौजबीच बारम्बार ठूला भिडन्त भएका छन्। युक्रेनी सेनाले केही समयका लागि सीमावर्ती गाउँहरूमा पैठ जमाए पनि रूसी फौजले ती क्षेत्रमा पुनः आक्रामक मोडमा प्रवेश गरेर नियन्त्रण फिर्ता लिएको बताइएको छ।
यद्यपि युक्रेनी पक्षले गुदकोभको मृत्युबारे औपचारिक टिप्पणी दिएको छैन, विश्लेषकहरूका अनुसार यस घटनाले युद्धको मनोवैज्ञानिक मोर्चामा युक्रेनलाई बल मिल्नेछ। विगत तीन वर्षदेखि चलिरहेको युद्धमा यति उच्च तहका रूसी अधिकारीको निधन दुर्लभ मानिन्छ। मे २० तारिखमा राष्ट्रपति पुटिन आफैंले कुर्स्क क्षेत्रको भ्रमण गरेर सुरक्षा तयारीको अवलोकन गरेका थिए, जसबाट यस क्षेत्रमा हाल भइरहेका सैन्य गतिविधिको संवेदनशीलता पुष्टि हुन्छ।