शनिबार आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटको निर्णायक खेलमा अफगानिस्तानविरुद्धको नेपालको खेल मौसमका कारण हुन सकेन। मुलपानीस्थित तल्लो मैदानको पूर्वतर्फको भाग हिलो भएपछि खेल सम्भव भएन।
शनिबार बिहानसम्म परेको वर्षाका कारण मैदानको पूर्व भागमा पानी जमेको थियो। टसमा ढिलाइ भएपछि ग्राउन्ड स्टाफले मैदान सुकाउने प्रयास गरे तापनि सफल भएनन्। एक बजेपछि घाम लागेको भए पनि दुई बजेसम्म पनि खेल playable हुने अवस्थामा पुगेन।
अन्ततः दिउँसो २ बजे भएको अन्तिम निरीक्षणपछि म्याच रेफ्रीले खेल रद्द भएको घोषणा गरे। खेल रद्द भएसँगै नेपाल र अफगानिस्तानले एक–एक अंक बाँडे। लिग चरणमा नेपाल रअफगानिस्तान दुवैले प्रारम्भिक तीनवटै खेलमा युएई, हङकङ र ओमानलाई हराएका थिए।
तर रनरेटमा अफगानिस्तान नेपालभन्दा अगाडि थियो। अफगानिस्तानको रनरेट ४.८१७० रहेको थियो भने नेपालको ३.५७६४ रनरेटकै आधारमा अफगानिस्तानले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा आयोजना हुने विश्वकपका लागि छनोटमा स्थान बनायो भने नेपालको यात्रा यहाँ टुंगियो।
एसिया छनोटबाट एउटामात्र टोली विश्वकपमा छनोट हुने प्रावधान छ। नेपालले सन् २००० मा पहिलो पटक यू–१९ विश्वकप खेलेको थियो। त्यसयता नेपालले ८ पटक विश्वकप खेलिसकेको छ। सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक नेपालले विश्वकप खेलेको थियो।
त्यसपछि २०१२ र २०१६ मा पनि नेपालले सहभागिता जनायो। पछिल्लो पटक नेपाल सन् २०२४ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सहभागी भएको थियो। त्यसअघि युएईमा भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विश्वकपमा स्थान बनाएको थियो।
युएईलाई ७ रनले हराउँदै नेपालले आठौं पटक विश्वकप खेल्ने अवसर पाएको थियो। उक्त खेलमा दीपेश कँडेलले ह्याट्रिक सहित पाँच विकेट लिएका थिए। यसपटक पनि नेपालले अफगानिस्तानको चुनौती पन्छाउन राम्रो तयारी गरेको थियो।
वीरगन्जमा दिल्लीको यू–१९ टोलीसँग अभ्यास सिरिज खेलेपछि नेपालले मुलपानीमै अफगानिस्तानसँग तीन एकदिवसीय अभ्यास खेल खेलेको थियो। तीन खेलको सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेलमा नेपाल एक रनले पराजित भएको थियो।
अन्तिम खेलमा नेपालले पुनरागमन गर्दै जित हात पारेको थियो। नेपालका कप्तान नरेन भट्टका अनुसार उक्त अभ्यास श्रृंखलाबाट टोलीलाई अनुभव र आत्मविश्वास दुवै प्राप्त भएको थियो। तर अन्तिम र निर्णायक खेल मौसमका कारण स्थगित भएपछि नेपाल नवौं पटक यू–१९ विश्वकप खेल्ने लक्ष्यबाट वञ्चित भयो।