काठमाडौँ, – काठमाडौँको तीनकुने क्षेत्रमा भएको प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित सात जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासले बिहीबार राति फैसला सुनाएको हो।
तीनकुनेमा पूर्व राजसंस्थाको समर्थनमा भएको प्रदर्शनका क्रममा आपराधिक गतिविधि र आगजनीसहित राज्यविरुद्धका कार्यहरूमा संलग्न भएको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरिएको थियो। प्रहरी अनुसन्धान र सरकारी वकिलको प्रतिवेदनअनुसार, प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिका कारण पत्रकार सुरेश रजकको मृत्यु र एक जनाको गोली लागेर ज्यान गएको थियो।
त्यस घटनासँग सम्बन्धित भन्दै दुर्गा प्रसाईँ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई थुनामा पठाइएको हो। उनीहरूमाथि राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। प्रसाईँको पक्षमा बरिष्ठ अधिवक्ताहरूको टोलीले अदालतमा बहस गरेका थिए भने सरकारी पक्षबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले सहित चार जनाले जवाफ दिएका थिए।
अदालतले प्रदर्शनमा सहभागी रहेर पक्राउ परेका अन्य ३२ जनालाई विभिन्न धरौटी रकममा रिहा गर्न आदेश दिएको छ। दुर्गा प्रसाईँ समर्थकको समूह एटिएफ मा आबद्ध हरिहर चौलागाईं, सन्तोष कुमार सिलवाल र हेमराज थारुलाई जनही १ लाख रुपैयाँ धरौटीमा छुटाइएको छ। अन्य पक्राउ परेकाहरूलाई १० हजारदेखि ५० हजार रुपैयाँसम्म धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
धरौटीमा छुटेका केही नाम: गोपाल मल्ल ठकुरी – २० हजार,पशुपति खड्का – १० हजार, विष्णु पराजुली – १० हजार, निराजन गिरी – ५० हजार, अमित शाह – ५० हजार, सुमन कार्की – १० हजार, मनोज सापकोटा – १० हजार आदि धरौटी लिन आदेश गरिएको छ । २०८१ चैत १५ मा दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान र नवराज सुवेदी नेतृत्वको राजसंस्थाको पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रदर्शनको आयोजना गरेका थिए। सोही क्रममा तीनकुनेस्थित घरमा आगजनी हुँदा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको थियो।