काठमाडौं – सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्न पार्टीका सांसदहरूलाई ह्विप लगाएको छ। एमालेका मुख्य सचेतक महेश कुमार बर्तोलाले ह्विप जारी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
जसमाथि संसद्को दुवै सदनमा छलफल चलिरहेको छ। यही वैशाख २८ गते प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ। त्यस दिन सभामा अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन एमालेले ह्विप लगाएको हो। नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको पत्रमा उल्लेख छ।