पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को भावी अध्यक्षको रूपमा पार्टीभित्र चर्चा हुने गरेको छ। विशेषगरी, अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका केही नेताहरू र कार्यकर्ताबीच भण्डारीले ढाडस दिइरहेको चर्चा छ। तर, अध्यक्ष ओली भने भण्डारीको राजनीतिक सक्रियताप्रति खुलेर असन्तुष्टि जनाइरहेका छन्।
हालै अनेरास्ववियुको भेलामा उनले पार्टीमा को आउने रे, कसको खोजी भइरहेको भन्ने चर्चा उठाउँदै त्यसप्रति आपत्ति जनाए। उनले यस्ता कुराले पार्टी कमजोर हुने भन्दै कार्यकर्तालाई प्रतिवाद गर्न आह्वानसमेत गरे। यसैबीच, केही दिनदेखि पूर्वी नेपालका विभिन्न कार्यक्रममा सहभागी भएकी भण्डारी मंगलबार विराटनगर हुँदै काठमाडौं फर्किएकी छन्।
प्रस्थानअघि पत्रकारहरूसँग कुरा गर्दै उनलाई सोधिएको थियो— तपाईंको राजनीतिक सक्रियतालाई अध्यक्ष ओलीले नरुचाएको हो? जवाफमा भण्डारीले ओलीको भनाइ आफूतिर लक्षित भएको लागेन बताइन्। उनको भनाइ थियो, एमाले अध्यक्षले म तिरै भनेर भन्नुभएको हो जस्तो लाग्दैन। किनभने, मेरो व्यक्तिगत आकांक्षा केही छैन। अध्यक्षले बरु कार्यकर्तालाई महाधिवेशनअघि नेतृत्वको चिन्ता नगर भन्न खोज्नुभएको होला।
देशको राष्ट्रपति भइसकेकी भण्डारीले आफू लामो राजनीतिक यात्राबाट आएको, सम्बन्ध र चिनजान देशभर फैलिएको उल्लेख गर्दै ओलीलाई घुमाउरो रूपमा जवाफ दिइन्। उनले भनिन्, मेरो चिनजान ठूलो छ, देशैभरि कार्यक्रममा खोज्नुहुन्छ। मैले पनि समाजसँग साक्षात्कार गर्नुपर्यो, नयाँ पुस्ताको कुरा बुझ्नुपर्यो। त्यसका लागि एमालेको कमिटी वा कसैसँग अनुमति लिइराख्नुपर्ने देख्दिन।
पार्टीमा रहँदा सधैं मूलधारको प्रतिनिधित्व गरेको र कहिल्यै गुटबन्दी नगरेको उल्लेख गर्दै भण्डारीले अध्यक्ष ओलीको असन्तुष्टि आफूतिर हुन नसक्ने दाबी गरिन्।