पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दल नेकपा (एमाले) को आन्तरिक अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। शुक्रबार काठमाडौंको आलोकनगरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेभित्र गहिरो राजनीतिक संकट देखिएको बताए।
नेपालले भने, “राजनीतिक वृत्तमा एक समय मूल कम्युनिष्ट पार्टीका रूपमा चिनिएको एमाले आज गम्भीर संकटको चपेटामा परेको छ। त्यसभित्र बढ्दो अन्तरविरोध, व्यक्तिवाद र अनुचित कार्यशैलीले भविष्य अस्थिर बनाएको छ।” उनले यस्ता प्रवृत्तिहरू सत्ताका लागि ‘दक्षिणपन्थी अवसरवाद’ मा चुर्लुम्म डुबेको आरोप समेत लगाए।
एमालेप्रति व्यक्तिगत आक्रोशभन्दा पनि वैचारिक विचलनप्रति चिन्ता रहेको संकेत गर्दै नेपालले भने, “म उनीहरूको आन्तरिक मामिलामा गहिरो प्रवेश गर्न चाहन्न, तर जुन प्रवृत्ति हावी भएको छ, त्यो परास्त गर्नु आजको आवश्यकता हो।” अध्यक्ष नेपालले वर्तमान सरकारलाई जनभावनाबाट टाढिएको, नीतिविहीन र जनविरोधी सरकारको संज्ञा दिए। “सरकार जनताको चाहनालाई बुझ्न असफल भएको छ।
नीति तथा कार्यक्रम जनपक्षीय बन्न सकेका छैनन्। जनताले भोगिरहेका समस्याप्रति सरकार पूर्ण रूपमा संवेदनहीन देखिन्छ,” उनले आरोप लगाए। उनले अहिलेको सरकारलाई “सुशासनको होइन, कुशासनको प्रवर्द्धक” भन्दै, यस्तो सरकारको पतन निश्चित रहेको धारणा राखे। “हामीले समय कुरे पुग्छ, परिवर्तन अनिवार्य छ,” उनले थपे।
आफ्नो वैचारिक स्पष्टता र निष्ठाको विषयमा बोल्दै नेपालले आफू कहिल्यै अनुचितको पक्षमा नरहेको बताए। “म कहिल्यै भ्रष्टाचारमा संलग्न भएको छैन। कोही प्रमाणसहित आरोप लगाओस्, म जुनसुकै बलिदान दिन तयार छु,” उनले स्पष्ट पारे।उनले राजनीतिक संस्कार, नियम र प्रक्रियाको पालना गर्ने मान्यता राख्ने व्यक्तिका रूपमा आफूलाई चित्रित गर्दै भने, “न राम्रो संस्कारबाट विचलित भएको छु, न त बदला लिने मनस्थितिबाट चलेको छु।”