काठमाडौं, वैशाख १९ –
सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन्। शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा कोच खेम सेन्चुरीको टोलीबाट प्रतिस्पर्धा गरेका पाण्डे विजेता घोषित भएका हुन्। विजेता बनेसँगै प्रोसेस पाण्डेले नगद २० लाख रुपैयाँसहित अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरेका छन्। उपाधिसँगै उनले नेपाली संगीत क्षेत्रमै नयाँ पहिचान बनाएका छन्।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप बने। सिक्किमकी अर्पणा आचार्य कोच उदय सोताङको टोलीबाट थर्ड रनरअप घोषित भइन्। जितपछिको संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले आफ्नो जित फरक क्षमता भएका व्यक्तिहरूको जित भएको बताएका छन्। उनले भने, “फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुनसक्छन् भन्ने कुरा आज प्रमाणित भएको छ।”
ग्राण्ड फिनाले समारोहमा ‘भ्वाइस अफ नेपाल’ सिजन ३ का विजेता किरण गजमेरले आफ्नो मौलिक गीतमा प्रस्तुति दिएका थिए। उनले कोच मेलिना राईसँग लोकप्रिय गीत ‘छपक्कै फूल फुल्यो बाटोमै’ मा समेत प्रस्तुति दिए। अन्य कोच र फाइनलिस्टबीच पनि जोडी गीत प्रस्तुत गरिएका थिए। कोच राजु लामाले प्रमेशसँग ‘बादल पारीको देशबाट’, कोच खेमले प्रोसेस
सँग ‘रम रम मरौटी’ र कोच सोताङले अर्पणासँग गीत गाएका थिए। फिनाले अघि नै बाहिरिएकी इन्द्रकला राईले पनि विशेष प्रस्तुति दिएकी थिइन्।
दुई महिनादेखि प्रसारण हुँदै आएको ‘भ्वाइस अफ नेपाल’ को यो सिजन निकै चर्चित रह्यो। पहिलोपटक लोकगायक खेम सेन्चुरी कोचको रुपमा सहभागी हुँदा कार्यक्रमलाई थप रंगीन बनाएको थियो। यस सिजनमा सर्वाधिक चारै कोचको कुर्सी घुमाउने प्रतिभाको संख्या पनि उच्च रह्यो।
हिमालय टेलिभिजनले अब छिट्टै ‘भ्वाइस अफ नेपाल किड्स’ संस्करण सुरु गर्ने तयारी गरिरहेको छ।