रुपन्देही — उपनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवार सागर ढकालले रुपन्देही–३ लाई ऐतिहासिक परिवर्तनको मैदानको संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै यो निर्वाचन ‘जनता भर्सेस राणा शासन’ को लडाइँ भएको बताएका छन् ।ढकालले भनेका छन्, “नेपाली राजनीतिमा ठूला भनिएका दलहरू — काँग्रेस, एमाले, माओवादी — एउटै थैलीका बिरालो हुन्। तीनवटै पार्टीले नयाँ ‘राणा शासन’ जस्तै व्यवहार गर्दै आएका छन्। अब यी सबैलाई ८४ सालसम्म उठ्न नसक्ने गरी पराजित गर्नु पर्छ।”
चितवन–२ मा रवि लामिछानेले पाएको ५४,१७६ मत र काठमाडौंमा बालेन शाहले पाएको ६१,७६७ मतलाई उदाहरण दिँदै ढकालले रुपन्देही–३ मा कम्तीमा ६२,००० मत ल्याएर इतिहास रच्नुपर्ने बताएका छन्। उनका अनुसार, “यहाँ करिब ९० हजार मतदाता छन्, नयाँ युगको सुरुवात यहीँबाट हुनुपर्छ।” ढकालले नारायणगढ–बुटवल सडकखण्डको ढिलाइ, जनतालाई दैनिक भोग्नुपरेको सास्ती र दुईतिहाइको सरकार भएर पनि जनताको वेदनाप्रति मौन बसेको नेतृत्वप्रति कडा आक्रोश पोखेका छन्।
उनको कडा चेतावनी : “यो चुनाव केवल रुपन्देही–३ को मात्र होइन, यो देशको चुनाव हो। अब नेपाली जनताले जित्ने मात्र होइन, क्लिन स्वीप गर्ने समय आएको छ। जनताको पीडा, आक्रोश र आशा बोलेको आवाज यही हो।” ढकालको यो अपिलले अबको चुनावमा सत्तारूढ दलहरूलाई चुनौती दिने संकेत देखिएको छ।