काठमाडौं – गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउबारे कुनै पूर्वाग्रह नरहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै उनले कानुनको कार्यान्वयन गर्ने मनसाय मात्रै रहेको बताएका छन्। उनले भने, यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु।
गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षकले दिएको जानकारी सदनमा प्रस्तुत गर्दै भने, वैशाख १७ गते पक्राउको पत्र लिएर सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय पुगेका थिए। परिचयपत्रसहित अदालतको आदेश कार्यान्वयन गर्न आएको बताएको र सोहीअनुसार प्रहरीले चौधरीलाई पक्राउ गरेको बताए।
उक्त पत्र अदालतको आधिकारिक नरहेको सर्वोच्चको पत्रपछि चौधरी रिहा भएको जानकारी उनले दिए। अनधिकृत पत्र लेखेका विष्टमाथि अनुसन्धान भइरहेको उनले बताए । गृहमन्त्री लेखकले भविष्यमा यस्ता घटना नदोहोरिनेप्रति सजग गराएको र चौधरी र परिवारप्रति भएको अफ्ठ्यारोप्रति दुःख व्यक्त गरेका छन्।
साथै, उनले संविधानका विरुद्धमा हुने कुनै क्रियाकलाप सह्य नहुने बताएका छन्। उनले भने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा, संविधानका विरुद्धमा हुने कुनै पनि क्रियाकलापहरू सह्य हुने छैनन्।