नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै चर्चामा रहेको भिजिट भिसा प्रकरण र नेतृ अग्नी सापकोटासँग सम्बन्धित विषयलाई एकआपसमा नजोड्न आग्रह गरेका छन्। शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भिजिट भिसालाई सापकोटा प्रकरणसँग जोडेर गरिँदै आएको प्रचारप्रति असन्तुष्टि जनाए। यी दुई विषय पूर्णतः अलग छन्। केही व्यक्तिहरूले भ्रम फैलाउने काम गरिरहेका छन्, प्रचण्डले प्रष्ट पारे।
उनको भनाइ अनुसार, “अग्नी सापकोटाको विषय र अध्यागमनसम्बन्धी भिजिट भिसा प्रकरणको कुनै सम्बन्ध छैन। यसरी तथ्य बङ्ग्याएर जनमत गलत दिशातर्फ लैजान खोजिँदैछ। शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादीले अग्नी सापकोटाको मुद्दालाई राजनीतिक साटफेरको रूपमा प्रयोग गरेको आरोप लगाएका थिए। शाहीको दाबीअनुसार भिजिट भिसा विवादका सट्टामा सापकोटा प्रकरण थाती राखिएको हो।
तर प्रचण्डले ती सबै आरोप आधारहीन भएको बताउँदै प्रतिवाद गरे। देश र जनताको हितमा संसद अवरुद्ध नगरी अघि बढाउने सहमति भएको हो, उनले भने। प्रचण्डले भिजिट भिसाको विषयलाई गम्भीर संवेदनशील मुद्दा भन्दै यसमा गहिरो अध्ययन आवश्यक रहेको बताए। उनका अनुसार, भिजिट भिसासम्बन्धी अनियमितता भए/नभएको यकिन गर्न एक महिनाभित्र अध्ययन समिति गठन गरी नीति निर्माण गरिने छ।
गृह मन्त्रालय मात्र होइन, सम्पूर्ण सरकार र प्रतिपक्ष दलहरूले पनि यसमा जिम्मेवारी बहन गर्नुपर्छ,उनले जोड दिए। अध्यक्ष दाहालले माओवादी केन्द्र सरकारमा जाने तयारीमा नरहेको प्रस्ट पारे। उनले भनाइ थप्दै भने, कांग्रेससँगको सम्बन्ध कसरी अघि बढ्छ भन्ने कुरा अध्ययन र छानबिनको प्रक्रियामा भर पर्छ। अहिलेको प्राथमिकता भनेको स्थायित्व र विधेयकहरू अगाडि बढाउनु हो।