काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी अहिले यथास्थिति भत्काएर समाजवादी क्रान्तिको दिशामा अघि बढिरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित निर्मल लामा स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर फर्काउने गरी आफूहरू कार्यरत रहेको बताए।
चुनौतिहरूका बीचमा विचार, मुद्दा, वर्ग र समुदायलाई केन्द्रित गरेर फेरि एकपटक यथास्थिति भत्काउने र समाजवादी क्रान्तिको दिशामा रूपान्तरणसहित अघि बढिरहेका छौँ, उनले भने। उनले अहिले प्रतिक्रियावादी र अवसरवादी शक्तिहरूले माओवादी केन्द्रविरुद्ध घेराबन्दी गरिरहेको र विभिन्न भ्रमहरू फैलाउने काम गरिरहेको आरोपसमेत लगाए। नेताहरूको देवत्वकरण (अत्यधिक महिमा मण्डन) गर्न नहुने उल्लेख गर्दै उनले पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए।