काठमाडौं — पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतविरुद्ध अपरेसन बनयान उल मर्सुस सुरु गरेपछि राष्ट्रिय कमान्ड प्राधिकरणको आकस्मिक बैठक बोलाएका छन्। पाकिस्तानको राष्ट्रिय कमान्ड प्राधिकरण (NCA) देशको सबैभन्दा उच्च सुरक्षा निकाय हो, जसले आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा तथा प्रयोगको निरीक्षण गर्छ।
सन् २००० मा स्थापना भएको यो प्राधिकरणले आणविक हतियारहरू सुरक्षित र संयन्त्रबद्ध तरिकाले मात्र प्रयोग हुने सुनिश्चित गर्ने उद्देश्य लिएको छ। भारत र पाकिस्तानबीच हालै बढ्दो सैन्य तनावका सन्दर्भमा प्रधानमन्त्री शरीफले प्राधिकरणको बैठक आह्वान गर्नुलाई गम्भीर सुरक्षा कदमका रूपमा हेरिएको छ।