काठमाडौँको कालिमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। काभ्रे जिल्लामा उत्पादित उक्त धनियाँमा ९९.३७ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको हो। कालिमाटी तरकारी बजार विकास समितिका अनुसार, मंगलबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रूत विश्लेषण एकाइले १७ वटा पसलमा राखिएका १७ प्रकारका तरकारीको नमुना लिइ परीक्षण गर्दा यो परिणाम आएको हो।
अर्गानोफस्फेट विषादी बजारमा प्रचलित कार्वामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीमा परेको छ। उक्त विषादीको मात्रामा आधारित विश्लेषण अनुसार, ३५ प्रतिशतभन्दा कम विषादी भएको खाद्यपदार्थ उपभोग योग्य मानिन्छ, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी विषादी भएको खाद्यपदार्थ स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र खान अयोग्य मानिन्छ।