नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दुम्किबासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल असार १९ गते बिहीबार बिहान ११ बजेदेखि सवारी सञ्चालनका लागि खोलिने भएको छ। पुलको कालोपत्रे बुधबार सम्पन्न भएसँगै निर्माणको अन्तिम चरण पूरा भएको सडक आयोजनाले जानकारी दिएको छ। अब नियमित रूपमा यातायात सोही नयाँ पुलबाट सञ्चालन गरिनेछ।
गत पुस २६ गते एक भारि ट्रकले पुरानो पुलमा क्षति पु-याएपछि वैकल्पिक डाइभर्सनमार्फत सवारी आवागमन हुँदै आएको थियो। तर खोलामा बाढी आएपछि त्यो डाइभर्सन बारम्बार बिग्रँदै यात्रुहरू हैरान हुन्थे। विशेषगरी असार ६ गतेको बाढीले यात्रुवाहक बस बगाएपछि पुल निर्माणको आवश्यकतामा थप ध्यान दिइएको थियो। अब भने नयाँ संरचनाले यात्रालाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।