काठमाडौं — पाकिस्तानले भारतविरुद्ध जबाफी कारबाही सुरु भएको दाबी गरेको छ। पाकिस्तानी सरकार तथा सञ्चारमाध्यमहरूका अनुसार भारतले सञ्चालन गरेको अपरेसन सिन्दुरको प्रतिउत्तरस्वरूप पाकिस्तानले अपरेसन बन्यान उल मर्सुस संचालनमा ल्याएको हो। पाकिस्तानबाट प्रकाशित हुने डन पत्रिकाका अनुसार पाकिस्तानी संघीय सरकारले भारतविरुद्ध जबाफस्वरूप सैन्य कारबाही सुरु गरिएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ।
उक्त अपरेसनका क्रममा भारतीय सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताइएको छ। सरकारको आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिएको जानकारीमा भनिएको छ, भारतले हाम्रो मातृभूमि, जनता र सार्वभौमिकतामाथि आक्रमण गरेकाले यो जबाफ दिइएको हो।
पाकिस्तानी वायुसेनाका अनुसार भारतले गएराति पाकिस्तानका तीन वटा एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो। जवाफी रूपमा पाकिस्तानले भारतको अदामपुरस्थित एस-४०० एयर डिफेन्स प्रणालीलाई जेएफ-१७ हाइपरसोनिक मिसाइलमार्फत नष्ट पारेको दाबी गरेको छ।
पाकिस्तानी सरकारी मिडियाले भारतका विभिन्न भूभागमा आक्रमण गरिएको दाबी गर्दै लक्ष्य बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छ। तीमध्ये विद्युत ग्रीड, केजी टप ब्रिगेड मुख्यालय, उरी आपूर्ति डिपो, अदामपुर हवाइ अड्डा, देखरंग्यारीको तोपखाना, ब्रम्होस मिसाइल भण्डारणस्थललगायत रहेका छन्।
पाकिस्तानले भारतविरुद्ध कारबाही गरिएको भिडियोसमेत सार्वजनिक गरेको छ, तर उक्त दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतले यसअघि अप्रिल २२ मा जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिक्रियामा अपरेसन सिन्दुर सुरु गरेको र त्यसअन्तर्गत बुधबार राति पाकिस्तानको भूभागमा हवाई आक्रमण गरेको बताइएको थियो।
त्यसयता भारत र पाकिस्तानबीच मिसाइल र ड्रोन हमलाहरू दोहोरिइरहेका छन्। हिन्दुस्तान टाइम्स अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको छ। पाकिस्तानबाट पनि राति भारतीय हमलाको दाबी गरिएको छ।
शनिबार बिहान साढे ४ बजे जम्मुमा ठूलो विस्फोटको आवाज आएको थियो। पाकिस्तानी ड्रोन देखिएपछि जम्मु र हरियाणाका विभिन्न स्थानमा ब्ल्याकआउट गरिएको थियो। जम्मु, साम्बा, बर्मर, जइसाल्मर, गुर्दासपुर, होसियारपुर र अमृतसरका सैन्य शिविरहरूलाई पाकिस्तानले निशाना बनाएको भनिएको छ।
भारतले भने आफ्ना एयर डिफेन्स सिस्टममार्फत पाकिस्तानी हवाई आक्रमण निष्क्रिय पारिएको दाबी गरेको छ। श्रीनगर विमानस्थलमा समेत ड्रोन आक्रमण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतले दुई रातमा ३०० देखि ४०० वटा पाकिस्तानी ड्रोन निष्क्रिय पारेको दाबी हिन्दुस्तान टाइम्स ले गरेको छ। पाकिस्तानले पनि भारतका ७२ वटा ड्रोन खसालेको डन ले उल्लेख गरेको छ।
पाकिस्तानले शनिबार बिहान ३:१५ बजेदेखि दिउँसो १२ बजेसम्म आन्तरिक हवाई क्षेत्र बन्द गरेको छ। भारतले यसलाई आफ्ना नागरिकलाई खतरामा पार्ने कदम भएको आरोप लगाएको छ। दुवै मुलुकबीच जारी तनावको स्थिति गम्भीर बन्दै गएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूवियोले भारत र पाकिस्तान दुवैसँग सम्पर्कमा रही मध्यस्थता प्रयास भइरहेको ह्वाइट हाउसले जनाएको छ।
अहिलेसम्म दुवै देशमा के कति क्षति भएको छ भन्ने विषयमा आधिकारिक पुष्टि नभएको जनाइएको छ।