नेपालले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै भारतप्रति ऐक्यबद्धता जनाएको छ। नेपालका परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको छ।
नेपालले सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ। नेपालले कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने पनि प्रष्ट पारेको छ। सरकारले तनाव कम होस् भन्ने चाहेको उल्लेख गर्दै यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।
यसैबीच, भारत र पाकिस्तानबीचको तनावले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पुर्याउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र वार्ता मार्फत समस्याको समाधान खोज्न आह्वान गरेको छ।