काठमाडौं – त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्ड आंशिक रूपमा बन्द हुने भएको छ। निर्माण कार्यका कारण वैशाख ३१ गतेसम्म हरेक रात ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधनहरूलाई रोकेर आवागमन सञ्चालन गरिने नागढुंगा–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। निर्माण कार्यका क्रममा काठमाडौंबाट नौबिसे जाने हलुका तथा भारी सवारीसाधनहरूलाई नागढुंगा चेकपोष्टमा र नौबिसेबाट काठमाडौं फर्किने सवारीसाधनहरूलाई खत्रिपौवा पुलमा रोकिनेछ।
साना तथा मझौला सवारीसाधनहरूका लागि वैकल्पिक रूट प्रयोग गर्न अनुरोध गरिएको छ। वैकल्पिक मार्गहरूमा सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशुली–गल्छी सडक प्रयोग गर्न सकिने जनाइएको छ। योजनाले राति ११ बजेदेखि सवारी रोकेर बिहान ३ बजेपछि मात्रै सञ्चालन गर्न दिने बताएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनहरू भने निर्वाध रूपमा सञ्चालन हुनेछन्।