काठमाडौं, नेपाल शिक्षक महासंघको २७ दिनदेखि जारी आन्दोलनप्रति समर्थन जनाउँदै आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी हुने भएका छन्।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष नेपाल सहभागी हुन लागेका जानकारी दिएका छन्। खतिवडाले लेखेका छन्, २६ दिनदेखि जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन तथा सरकारले देखाएको हेलचेक्र्याइँ, अपमान र दमनको विरोधमा हामी अध्यक्ष कमरेड माधव नेपालको नेतृत्वमा वैशाख १५ गते दिउँसो १२:३० बजे बिजुलीबजार जानेछौं।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघ २७ दिनदेखि आन्दोलनरत छ। सो ऐन हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको छ। समितिबाट पारित नहुँदा ऐन संसदमा टेबुल हुन नसकेको हो। उक्त समितिका सभापति एकीकृत समाजवादीकै सांसद अम्मरबहादुर थापा हुन्।
शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको भए पनि शिक्षकहरू लचिलो भई सरकारसँग सहमति गर्न तयार रहँदा, एक अन्तर्वार्तामा सभापति थापाले शिक्षकहरू सडकमा उत्रिए तापनि ऐन तत्काल जारी गर्न नसकिने बताएका थिए। उनले सबै प्रक्रिया पूरा हुन अझै कम्तीमा एक महिना लाग्ने धारणा राखेका छन्।
विद्यालय शिक्षा विधेयक हाल उपसमितिमा संशोधनसहित छलफल भइरहेको छ। उपसमितिलाई वैशाख २३ गतेसम्मको समय सीमा तोकिएको छ। उपसमितिबाट संशोधनसहित पारित भएपछि मात्र विधेयक समितिबाट पास भएर प्रतिनिधिसभामा टेबुल हुनेछ।
त्यसपछि प्रतिनिधिसभामा छलफल गरी विधेयक राष्ट्रिय सभामा पठाइन्छ। राष्ट्रिय सभामा दफावार छलफलपछि पास भएको सन्देशसहित प्रतिनिधिसभामा फर्काइन्छ। त्यहाँबाट पुनः पास भएपछि मात्र सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेश गरिन्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशन भई ऐन लागू हुनेछ।
शिक्षा मन्त्रालयले पटक–पटक शिक्षक प्रतिनिधिहरूलाई बैठक र वार्तामा बोलाए पनि सहमति कायम हुन सकेको छैन। उता सत्तारूढ दलहरूले भने विपक्षीहरूले शिक्षकहरूलाई अनावश्यक रूपमा उक्साएर सहमति अवरुद्ध गराएको आरोप लगाएका छन्।