सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री एनपी साउदले पाकिस्तानको उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको समयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मन्त्री साउदले भारत र पाकिस्तानबीचको सम्बन्धमा विकसित परिस्थितिलाई सरकारले नजरअन्दाज गरेको बताएका छन्।
साउदका अनुसार, छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ। उनले भ्रमण पूर्वनिर्धारित भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए।
भारतको जम्मु काश्मिर स्थित पहलगाम घटनामा आस्थाका आधारमा नेपालीको ज्यान जाने गरी घटना भएको उल्लेख गर्दै साउदले भने, विश्वव्यापी आतंकवादी आक्रमणबाट नेपालीहरु पनि शिकार हुनबाट नेपाली अछुत हुन नसकेको छ। गत वैशाख ९ गते भारतको काश्मिरस्थित पहलगाममा भएको आतंककारी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो।