काठमाण्डौं, – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियाका व्यवसायीहरूलाई नेपालको पूर्वाधार विकास र पर्यटन क्षेत्रमा लगानी गर्न खुला निम्तो दिएका छन्। नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले नेपालमा निजी क्षेत्रका लागि पर्याप्त अवसर र लगानीमैत्री वातावरण रहेको भन्दै साझेदारीमा काम गर्न आग्रह गरे।
उनले नेपालको भौतिक पूर्वाधार निर्माण तथा पर्यटन क्षेत्रले लगानीको भरपूर सम्भावना बोकेको उल्लेख गर्दै, “नीतिगत स्पष्टता र लगानी प्रोत्साहनका उपायहरू सरकारको प्राथमिकतामा छन्। निजी क्षेत्रको भूमिकालाई हामीले सधैं स्वागत गर्ने गरेका छौं,” भने। मलेसियाली प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, जलविद्युत्, वातावरण, व्यापार, पूर्वाधार निर्माण तथा पर्यटन क्षेत्रमा नेपालमा लगानीको चासो देखाए।
प्रतिनिधिमण्डलमा परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत उद्यमीहरू सहभागी थिए। उनीहरूले नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए। सरकार र निजी क्षेत्रबीचको सहकार्यले नेपालको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पार्ने विश्वास अर्थमन्त्री पौडेलले व्यक्त गरे। साथै, उनले नेपालमा आउने विदेशी लगानीकर्ताहरूका लागि आवश्यक नीति, संरचना, र सहजता प्रदान गर्न सरकार सधैं तत्पर रहेको बताए।