जनकपुर, — नेकपा (एमाले) का सचिव रघुवीर महासेठले सत्तारूढ गठबन्धनमा विग्रह ल्याउने योजनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय रहेको गम्भीर आरोप लगाएका छन्। जनकपुरमा आइतबार आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै महासेठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका शक्तिहरू यो गठबन्धनलाई भत्काउने दिशामा लागिपरेको भन्दै त्यसको अगुवाइ स्वयं प्रचण्डले गरिरहेको दाबी गरे।
“यो सरकारलाई अस्थिर बनाउने प्रयास केही समयदेखि चलिरहेको छ। त्यो प्रयासको अगुवाइ प्रचण्डजी स्वयंले गरिरहनुभएको देखिन्छ। उहाँलाई केही स्वतन्त्र सांसदहरू, साना दलहरू र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत साथ रहेको छ,” महासेठले आरोप लगाए। उनका अनुसार सत्ता साझेदार दलहरूमै रहेका केही असन्तुष्ट अनुहारहरू पनि गठबन्धनको विरुद्ध सक्रिय छन्।
विशेष गरी मधेस प्रदेशमा समानुपातिक प्रणालीबाट निर्वाचित केही सांसदहरू विदेशी प्रभावमा चलिरहेको गठबन्धनविरोधी गतिविधिमा संलग्न रहेको महासेठको भनाइ छ। तर महासेठले अहिलेको सरकार प्रतिकूल अवस्थामा नरहेको पनि प्रष्ट पारे। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको समझदारीलाई सरकारको मेरुदण्ड माने।
“सरकार देउवा र ओलीको सहकार्यमा अघि बढिरहेको छ। यिनको बीचको समन्वयले नै हालसम्म सरकारलाई सन्तुलित राखेको छ,” उनले भने। महासेठले हालको गठबन्धन नै देशका लागि एक मात्र व्यवहारिक संयोजन भएको बताउँदै, यसका विकल्पहरू अझै अलमलमा रहेको धारणा राखे।