गृहमन्त्री रमेश लेखक शुक्रबार संसदमा अचम्मकै शैलीमा प्रस्तुत भए । विगतमा आलोचना र विरोधमा सुरक्षात्मक देखिने लेखक माओवादीको समर्थनपछि आत्मविश्वासले भरिएका देखिए । संसदमा भिजिट भिसाको नाममा भइरहेको संस्थागत मानव तस्करीको गम्भीर आरोप लागिरहँदा पनि उनले उजुरी दिनेहरूमाथि कारबाहीको चेतावनी दिए — जुन शैली विगतमा उनको बोलाइभन्दा फरक थियो ।
शालीन र कम स्वरमा प्रस्तुत हुने बानी भएका लेखकको भाषण यसपटक प्रहारात्मक मात्र नभई चुनौतीपूर्ण पनि थियो । उनको अनुहारमा तनावको छायाँ होइन, विपक्षी दल रास्वपा र राप्रपालाई हलुका रूपमा हेर्ने आत्मविश्वास झल्किन्थ्यो । निकट स्रोतका अनुसार माओवादीसहित विपक्षी दलले संसदमा कडा विरोध गरेपछि उनी राजीनामा दिने सोचमा पुगेका थिए । आफ्नो सचिवालयको संलग्नताले नैतिक रुपमा पनि उनलाई असहज बनाएको थियो । त्यसै क्रममा १४ जेठमा संसद भवनकै ल्होत्से हलमा उनले पत्रकार सम्मेलन गरेर आफ्नो पक्ष प्रस्ट्याउने प्रयास गरेका थिए, तर त्यो बेला उनको बोली र हाउभाउ थकित र निराश देखिएको थियो ।
तर, माओवादीको समर्थनले शुक्रबार लेखकलाई नयाँ ऊर्जा दियो । संसदभित्र उनी प्रश्नको दबाबमुक्त देखिए, आत्मविश्वासले भरिएका थिए र विपक्षीको आलोचना तिर खासै ध्यान नदिएको शैलीमा प्रस्तुत भए । उनको बद्लिएको शैलीले देखाएको छ — सत्ता समर्थनको बलले कमजोरलाई पनि बलियो देखाउन सक्छ, र राजनीतिक संरक्षण पाउनेबित्तिकै मन्त्री लेखकजस्ता शालीन पात्र पनि आक्रामक बन्न सक्छन् ।