काठमाडौँ — बैंकिङ कसुर र चेक अनादरका फरक–फरक मुद्दामा अदालतबाट दोषी ठहर भएका ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। काठमाडौँको जमलस्थित ब्रान्डेड मदिरा व्यवसाय सञ्चालन गर्दै आएका अग्रवाललाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार अग्रवाललाई पक्राउ गरेलगत्तै अदालतमा उपस्थित गराइएको छ। काठमाडौँ जिल्ला अदालतले उनलाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र १ करोड ५० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसैगरी, २०८० असार २१ मा अर्को चेक अनादरको मुद्दामा ३ हजार रुपैयाँ जरिवाना र २०८० फागुन २४ मा फेरि अर्को चेक अनादर मुद्दामा ४ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।यसअघि २०७८ फागुनमा पनि उनी पक्राउ परेका थिए तर त्यसबेला धरौटीमा छुटेका थिए। पछिल्ला फैसलाहरूपछि भने उनी फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार, सञ्जय अधिकारी लगायतले चेक बाउन्सको जाहेरी दिएपछि उनी परिवारसहित भारत भागेका थिए। पछि ‘ऋण तिर्छु’ भन्दै नेपाल फर्किए पनि अदालतको फैसला कार्यान्वयन नगरी फरार रहँदै आएका थिए। अब उनलाई अदालतको फैसलाअनुसार सजाय भोगाउन कारबाही प्रक्रिया अघि बढाइएको छ।