काठमाडौं – परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरूलाई मुलुकको ‘सफ्ट पावर’का रूपमा उपयोग गर्नुपर्ने बताएकी छन्। बिहीबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेसको जनसम्पर्क समिति समन्वयले आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै राणाले दोस्रो पुस्ताका नेपालीहरू नेपालसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन्।
“हाल विभिन्न मुलुकको राजनीतिमा समेत सक्रिय रहेका दोस्रो पुस्ताका नेपालीहरू हाम्रा लागि सफ्ट पावर हुन्, त्यसको उपयोग गर्नुपर्छ,” मन्त्री राणाले भनिन्। उनले गैरआवासीय नेपाली (एनआरएन) कार्ड सम्बन्धमा लामो समयदेखि उठ्दै आएको आवाजप्रति धन्यवाद दिँदै अब स्थायी सरकार गठन भइसकेकाले चाँडै कार्ड जारी हुने आश्वासन दिइन्। “कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, तपाईंहरूले देखाउनुभएको धैर्यताको म कदर गर्छु,” उनले भनिन्।
राणाले एनआरएन कार्डबारे संविधान निर्माणकै बेला व्यापक छलफल भइसकेको र नेपाली कांग्रेस सुरुबाटै यसको पक्षमा रहेको पनि स्पष्ट पारिन्। साथै, विदेशमा रहेका नेपालीहरूमा सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारीको अभावले समस्या आइरहेको उल्लेख गर्दै सरकारले यसतर्फ पनि ध्यान दिने बताइन्। यसअघिका पहलहरूलाई सम्मान गर्दै डा. राणाले प्रवासी नेपालीको भूमिकालाई थप मजबुत बनाउन सरकार गम्भीर रहेको जनाइन्।