प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आलोचना कांग्रेसकै प्रभावशाली नेताबाट खुलेर हुन थालेपछि राजनीतिक वृतमा अनेक आशंका जन्मिएका छन्। विपक्षी नेता प्रचण्डको “नयाँ वर्षसँगै नयाँ सरकार” भन्ने अभिव्यक्तिले यो चर्चा झन् बलियो बनेको छ। यता सडकमा शिक्षकदेखि सहकारी पीडित र राजावादीसम्म आन्दोलनरत छन्। यस्तो अवस्थामा एमाले नेताहरू भने सरकार संकटमा नरहेको, कांग्रेस नेताहरूले केवल “सचेत गराउने” उद्देश्यले बोलेको दाबी गर्छन्।
एमाले सचिव रघुवीर महासेठ भन्छन्, “सरकारमा बसेर काम गर्न कति अप्ठ्यारो छ भन्ने कुरा बुझ्नुपर्छ। बोल्ने नेताहरू पनि सरकारमा थिए। सरकार ढल्ने सम्भावना छैन।”तर माओवादी अध्यक्ष प्रचण्डले चितवनमा “सरकार परिवर्तन हुन सक्छ” भनेर दिएको संकेतले गठबन्धनको स्थायित्वबारे संशय थपिएको छ। उपाध्यक्ष अग्नि सापकोटा भन्छन्, “कांग्रेस नेताहरूको आलोचनाले प्रचण्डजीलाई पनि गठबन्धन दीर्घकालीन नहोला भन्ने लागेको हो।”
कांग्रेस महामन्त्री गगन थापा, नेता शेखर कोइराला र एनपी साउदजस्ता नेताहरूले सरकार असफल भएको दाबी गर्दै संविधान संशोधन, स्थायित्व र जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन्। विश्वप्रकाश शर्माले त “ऐना देखाएको मात्रै हो” भनेका छन्। राजनीतिशास्त्रका प्राध्यापक जनार्दन आचार्य भन्छन्, “यो घटनाक्रम सत्ता बाँडफाँडका लागि रणनीतिक बोलवाला हो। खासगरी गभर्नर, राजदूत जस्ता पदमा मोलमोलाइ हुनसक्छ।”
प्रचण्डले ‘बाहिर बसेर समर्थन दिन पनि तयार’ भनिरहँदा एमाले भने गठबन्धन स्थिर रहेको, सरकार चुनावसम्म चल्नेमा ढुक्क देखिन्छ। राजनीतिक समीकरणको हलचलबीच सत्ता साझेदार दलहरूबीच विश्वासको संकट देखिएको छ, जसले आगामी दिनमा सरकारको संरचना र नेतृत्वमा फेरबदलको ढोका खुला राखेको छ।