चीनले बुधबार भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणलाई खेदजनक भन्दै दुवै पक्षलाई संयम अपनाउन र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरेको छ। भारतको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र ३५ जना भन्दा बढी घाइते भएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई खेदजनक भन्दै दुवै पक्षलाई संयम अपनाउन र स्थिति थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेका छन्।
माओवादी प्रवक्ताले भनेका छन्,हामी दुवै पक्षलाई संयम अपनाउन र स्थिति थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए। उनले भनेका छन्, मैले आक्रमणबारे भर्खरै सुनेँ। दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ। मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि भारत-पाकिस्तानबीच सुरू भएको आक्रमणलाई अमेरिकाले नजिकबाट हेरिरहेको बताएका छन्। यस घटनामा पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने पनि बताएको छ। पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल विमान र दुइटा रुसमा बनेका लडाकु जहाज खसालेको उसले दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।