भारतले मध्यराति पाकिस्तानी भूमिमा आक्रमण गरेको पुष्टि भएको छ। पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) निर्देशक अहमद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले दिएको जानकारी अनुसार, आक्रमणमा तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको छ भने १२ जना घाइते भएका छन्। डानका अनुसार भारतको आक्रमण सैन्य क्षेत्रमा नभई सर्वसाधारण वस्ती क्षेत्रमा गरिएको हो। आक्रमणपछि पाकिस्तानले आपतकालीन सतर्कता जारी गर्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको छ।यसैबीच, भारतीय सञ्चार माध्यमले पाकिस्तानमा आक्रमण भएको पुष्टि गरे तापनि मृत्युको विवरणबारे केही उल्लेख गरेका छैनन्।
भारतले यो कारबाही काश्मिरको पहलगाममा केही दिनअघि भएको आतङ्ककारी आक्रमणको बदलाका रूपमा गरेको हो। पहलगाममा भएकाे हमलामा २६ जनाको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिकसमेत परेका थिए। भारतले उक्त आक्रमणमा पाकिस्तानसँग सम्बन्धित समूहको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। यो घटनाले दुई परमाणुशक्ति राष्ट्रबीचको तनाव झनै चर्किएको संकेत देखिएको छ।