टेक्सास, अमेरिका — अमेरिकाको टेक्सास राज्यमा शुक्रबार परेको भीषण वर्षापछि आएको विनाशकारी बाढीले जनजीवन तहसनहस बनाइरहेको छ। अमेरिकी मिडिया सिएनएनका अनुसार घटनामा अहिलेसम्म ४६ जनाको ज्यान गइसकेको छ भने २० किशोरी अझै सम्पर्कविहीन छन्। प्राकृतिक प्रकोपले सर्वसाधारणदेखि आपतकालीन सेवासम्मलाई गहिरो असर पारेको छ।
बाढीबाट १८ जना बालिकाहरू र किशोरीहरू तथा २८ जना प्रौढहरूको मृत्यु भएको पुष्टि गरिएको छ। उद्धार टोलीहरू अहोरात्र खटिए पनि अझै कसैले देख्न नसकेको २० जना किशोरीहरूको खोजी जारी छ। बेपत्ता भएकाहरू ‘क्याम्प मिस्टिक’ नामक ग्रीष्मकालीन शिविरमा सहभागी बालिकाहरू हुन्। टेक्सास राज्यको केर काउन्टीस्थित ग्वाडलुप नदीको किनारमा अवस्थित यो शिविर बालिकाहरूको आत्मविश्वास, नेतृत्व विकास, र व्यक्तिगत सीप अभिवृद्धिका लागि प्रसिद्ध मानिन्छ।
विगत केही दशकदेखि यो शिविर अमेरिकी परिवारहरूबीच अत्यन्त लोकप्रिय बनिरहेको छ। यस वर्ष पनि करिब ७०० बालिकाहरू शिविरमा सहभागी थिए, तर शुक्रबारको वर्षा र त्यसपछिको आकस्मिक बाढीले शिविर नै संकटमा पारिदियो। स्थानीय समय अनुसार दिउँसो नदीको बहाव एक्कासि बढेपछि पानी शिविर क्षेत्रभित्र छिर्यो र धेरै किशोरीहरू बगाएको आशंका गरिएको छ।
बचाउन सकिने धेरैलाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन्। हेलिकप्टर, डुङ्गा र खोजी कुकुरहरूको सहयोगमा बेपत्ता किशोरीहरूको खोजीलाई उच्च प्राथमिकता दिइएको छ। परिवारहरू आफ्ना प्रियजनको खबर पर्खिरहेका छन्, र सम्पूर्ण समुदाय शोकाकुल बनेको छ। बाढीले धेरै घरहरूमा क्षति पुर्याएको छ। प्रमुख सडक र पुलहरूमा पनि बाढीले क्षति पुर्याएको छ।