नेप्से परिसूचक बिहीबार पनि बढ्दै हरियो रह्यो। आइतबारदेखि बढ्न थालेको बजार पाँचौं दिन पनि उकालो लाग्यो, जसले लगानीकर्तालाई केही राहत दिएको छ। बिहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको छ। लगातारको वृद्धिले बजारमा आशावाद बढाएको देखिन्छ। तर, कारोबार रकम भने अघिल्लो दिनभन्दा केही घटेको छ। बुधबार करीब ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो भने बिहीबार यो रकम ९ अर्ब ६४ करोडमा झर्यो।
आज ३११ वटा कम्पनीका दुई करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको हो। कित्ता सेयर किनबेच भएका छन्। बजारमा उचारचढाव पनि देखिएको छ। १२२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनीको मूल्य घटेको छ। नेपाल फाइनान्सको सेयर सबैभन्दा धेरै, ९.९८% ले बढेको छ। त्यसपछि खानीखोला हाइड्रोपावरको सेयर ७.१७% ले उकालो लागेको छ।
उता, सप्तकोशी डेभलपमेन्टको सेयर सबैभन्दा धेरै, १०% ले घटेको छ। गुराँस लघुवित्तको सेयर पनि ९.९५% ले घटेको छ। बुटवल पावर कम्पनीको सेयरमा सबैभन्दा धेरै कारोबार भयो। ७९४ रुपैयाँ प्रतिकित्ता दरमा ३१ करोड ६८ लाख रुपैयाँको कारोबार भयो। दोस्रो स्थानमा साहस ऊर्जा रह्यो, जसको सेयरमा २७ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भयो।
बजारमा भएका १३ वटा समूहमध्ये ८ समूहको सूचक बढेको छ भने ५ वटा समूहको घटेको छ। सबैभन्दा धेरै वृद्धिदर वित्त समूहले देखाएको छ, जुन ४.०९% ले बढेको हो। बजार हाललाई सकारात्मक देखिए पनि कारोबार रकम घट्नुले लगानीकर्ताले अझ सतर्क रहनुपर्ने संकेत पनि दिएको छ।