काठमाडौं — सरकारले सुनचाँदी तथा रत्न व्यवसायमा करको भार बढाएपछि व्यवसायीहरूले खुला विरोध थालेका छन्। कर वृद्धिको निर्णयप्रति असहमति जनाउँदै शुक्रबार व्यवसायीहरूले काठमाडौंको सडकमा र्याली प्रदर्शन गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको सो प्रदर्शन माइतीघर मण्डलबाट सुरु भई नयाँ बानेश्वरसम्म पुगेर कोण सभामा परिणत हुनेछ।
र्यालीमा पसलहरू बन्द गरेर व्यवसायीहरू, कालिगढहरू तथा मजदुरहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। व्यवसायीहरू सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् ल्याएको नयाँ कर संरचनाबाट गम्भीर चिन्तित देखिएका छन्। उनीहरूका अनुसार २ प्रतिशत विलासिता कर र १३ प्रतिशत रत्न तथा बहुमूल्य पत्थरमा लगाइएको करले नेपाली बजारमा सुनचाँदी व्यवसाय धरासायी हुने खतरा देखिएको छ।
“यो करले हामीलाई धराशायी बनाउनेछ,” एक सहभागी व्यवसायीले भने, “पहिले नै अन्तर्राष्ट्रिय बजारको उतारचढाव, चोरीपसारी र सीमित मागले हामी प्रभावित छौं, अब सरकारले थप बोझ थोपरेको छ।” व्यवसायीहरू अहिलेको कर संरचना पुनरावलोकन गर्न सरकारसँग माग गर्दै छन्।
उनीहरूको ठम्याइमा, यसरी हठात कर लगाउँदा घरेलु उत्पादन, रोजगारी र हस्तकला उद्योगहरू समेत संकटमा पर्नेछन्। सरकारले राजस्व बढाउने उद्देश्यले कर लागू गरेको भए पनि व्यवसायीहरू भन्छन् — व्यापारमै अस्तित्वको संकट आएपछि कर तिर्ने अवस्था पनि रहनेछैन। अबको दिनमा सरकारको प्रतिक्रिया कस्तो आउनेछ भन्नेमा व्यवसायीहरूले चासो व्यक्त गरेका छन्।