काठमाडौँ, — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान अवस्थामा देशको मूल्याङ्कन गर्दा अन्धविश्वास वा पूर्वाग्रहका आधारमा होइन, तथ्यमा आधारित विश्लेषण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन्। शनिबार राजधानीमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै थापाले देशमा न त सबै कुरा बिग्रिएको हो न त सबै ठिकठाक छ भन्ने भ्रम पाल्नुपर्ने अवस्था रहेको बताए।
“कतैबाट देश ध्वस्त हुँदैछ भन्ने हल्ला आए पनि त्यति चाँडो नपत्याउनुहोस्। तर, सबै कुरा ठीक छ भन्ने प्रचार पनि होसियार भएर सुन्नुस्,” उनले भने।थापाले देशमा सकारात्मक कामहरू पनि भएका छन् भन्ने कुराको स्वीकारोक्ति गर्नु आवश्यक रहेको भन्दै विगतका कमजोरीहरूबारे प्रश्न उठाउन पछि नहट्न आग्रह गरे। उनका अनुसार, “जुन काम राम्रो भएको छ, त्यसलाई स्वीकार गरौं, प्रशंसा गरौं। जुन काम हुनुपर्ने थियो, त्यो किन भएन भनेर प्रश्न गरौं। जिम्मेवारी हामीले लिनुपर्छ।
भाग्ने होइन, अडिने समय हो यो। सिक्ने, सोच्ने र चुनौती दिने बानी बसाल्न जरुरी छ।” महामन्त्री थापाले शिक्षित युवापुस्ताले अबको नेपालको दिशा निर्धारण गर्ने विश्वास व्यक्त गर्दै भने, “म विश्वास गर्छु, आउँदो पुस्ताले हामीले गर्न नसकेका सुधार गर्न सक्नेछ। उनीहरू अझै सक्षम र सजग हुनेछन्।” कार्यक्रममा सहभागी विद्यार्थीहरूसँग उनले खुलेर छलफल गर्दै आफूले अध्ययन, विश्लेषण र आलोचनाका माध्यमबाट सक्रिय भूमिका खेल्नुपर्ने बताए।