काठमाडौं,– प्रतिनिधि सभाकी सांसद रोशन कार्कीले संसदमा पेश गरिने कुनै पनि विधेयकमाथि आवेशमा प्रतिक्रिया जनाउनु भन्दा पहिले त्यसको गहिरो अध्ययन गरिनु आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्। शनिबार बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै कार्कीले कानुन निर्माणको प्रक्रियालाई परिणाममुखी बनाउने हो भने, त्यसमा संशोधन गर्नुअघि समग्र विधेयकको मर्म बुझ्न जरुरी हुने बताइन्।
“विधेयकमा हचुवाको भरमा संशोधन गर्नु हुँदैन,” सांसद कार्कीको भनाइ थियो, “हामीलाई समय दिइएको हुन्छ, त्यो समयलाई उपयोग गरेर विधेयकको पृष्ठभूमि, उद्देश्य र सम्भावित प्रभावको समीक्षा गरेर मात्र संशोधन अघि बढाउनु पर्छ।” उनले राज्य व्यवस्था तथा सुशासन समितिमा पहिले उठेको ‘कुलिङ पिरियड’ सम्बन्धी विषयको चर्चा गर्दै उक्त प्रकरणले सांसदहरूलाई सतर्क बनाएको बताइन्।
“त्यो अनुभवले हामीलाई सिकाएको छ कि, हरेक धाराको राम्रोसँग अध्ययन नगरी निर्णय गर्नुले समस्या निम्त्याउन सक्छ,” उनले भनिन्। शनिबारको समितिको बैठक ऐन कार्यान्वयनको प्रभावकारिता कति छ भन्ने विषयमा केन्द्रित थियो। सांसद कार्कीले यस्तो बहसलाई नीतिगत सुधारतर्फ एक सकारात्मक कदमको रूपमा लिइनुपर्नेमा जोड दिइन्।
“नीति निर्माण भनेको जनताको भरोसासँग जोडिएको विषय हो,” उनले थप भनिन्, “त्यसैले विधेयकको अध्ययन, बहस र संशोधन तीनवटै पक्षमा हामी गम्भीर हुन जरुरी छ।”