काठमाडौं – हेटौंडाको चुच्चे खोलानजिकको सडक भासिएर बोलेरो गाडी बेपत्ता भएको छ। शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी जमिनसहित अचानक हराएको हो। गाडी भासिनुअघि नै चालक र सहचालकले गाडी छाडेका कारण उनीहरू सुरक्षित रहेका छन्।
गाडी हराएको स्थानमा जेसिबी प्रयोग गरी खोजी गर्दा समेत गाडी फेला नपरेको मकवानपुर प्रहरीले जनाएको छ। घटनास्थल आसपास माछा पोखरी रहेका कारण ती पोखरीसमेत जोखिममा परेका छन्। प्रहरीका अनुसार गाडी बेपत्ता भएको ठाउँमा जमेको दहको सतह कटाएर खोजी कार्य जारी छ।