काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा नेपाल प्रहरी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी सेवाबाट राजीनामा दिएका छन्। ऐरीले २०८२ सालको बैशाख २८ गते प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्। प्रहरी सेवामा सन् २०१६ देखि कार्यरत ऐरी २०८० असोजमा सहायक हवल्दारमा बढुवा भएका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले ऐरीको राजीनामा स्वीकृत भइसकेको पुष्टि गरेका छन्। हालसम्म ऐरीले यसबारे सार्वजनिक धारणा दिएका छैनन्। खोजसमाचारको कुराकानीमा उनले भने, “अहिले यसबारे नबोलौँ, कुनै समय भन्छु होला।”
यद्यपि, ऐरीले आफ्नो राजीनामा पत्रमा “घरायसी कारण” उल्लेख गरे पनि उनी विदेश जाने तयारीमा रहेको अनुमान गरिएको छ ।उनको बढुवामा २०८० सालमा चीनमा भएको एसियन गेम्समा मंगोलियाविरुद्ध ऐतिहासिक अर्धशतक प्रहारले भूमिका खेलेको मानिन्छ। राजीनामापछि अब ऐरीको भविष्यको बाटो क्रिकेटमै केन्द्रित हुने कि विदेशिने भन्ने चासो नेपाली क्रिकेट समर्थकबीच उठेको छ।