काठमाडौं-५३ वर्षअघि पृथ्वीबाट अन्तरिक्षमा पठाइएको एउटा सोभियत अन्तरिक्ष यान अहिले पृथ्वीका लागि सम्भावित खतरा बनेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सो यान छिट्टै पृथ्वीमा खस्ने अनुमान गरिएको छ। सन् १९७२ मा तत्कालीन सोभियत संघले शुक्र ग्रहमा अवतरण गराउने उद्देश्यले कोसमस ४८२ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। तर प्रक्षेपणपछिकै केही समयमै खराबी आएपछि यान पृथ्वीको कक्षमा नै अड्किएको थियो।
झन्डै ५०० किलोग्राम तौल रहेको यो गोलाकार यान अहिले नियन्त्रणबाहिर जान थालेको वैज्ञानिकहरूको भनाइ छ। द गार्जियन पत्रिकाका अनुसार डच ट्र्याकिङ विशेषज्ञ मार्को ल्याङब्रोकले मे १० आसपास यान पृथ्वीमा खस्ने अनुमान गरेका छन्। उनका अनुसार यान करिब प्रति घण्टा २४२ किलोमिटरको गतिमा पृथीतर्फ झर्दैछ।
कोसमस ४८२ कुनै सामान्य यान थिएन। यो करिब १ मिटर व्यासको अवतरण क्याप्सुल हो, जुन शुक्र ग्रहको अत्यधिक तापमान र घना कार्बन डाइअक्साइडयुक्त वायुमण्डल सहनसक्ने गरी बनाइएको थियो। यही कारण, पृथ्वीको वायुमण्डलमा जलेर नष्ट नहुन सक्ने सम्भावना उच्च रहेको विज्ञहरूको अनुमान छ।
वैज्ञानिक ल्याङब्रोक भन्छन्, आत्तिनु पर्दैन, तर पूर्ण रूपमा सुरक्षित पनि छैनौं। यदि यानको केही भाग वायुमण्डलमा जलेर नष्ट भएन भने उल्का पिण्ड खसेजस्तै असर पर्न सक्छ। उनले थपे, मानव जीवनलाई हानि पुर्याउने सम्भावना भने चट्याङ लागेर मृत्यु हुने सम्भावना जत्तिकै न्यून छ।
वैज्ञानिकहरूका अनुसार यो यान पृथ्वीको ५१.७ डिग्री उत्तरदेखि दक्षिण अक्षांशको बीचमा कहीं पनि खस्न सक्छ। यसको अर्थ यो लन्डनदेखि क्यानडाको एडमिन्टनसम्मको क्षेत्रभित्र पर्ने संसारका कुनै पनि भागमा खस्न सक्नेछ। हालसम्म यो यानको प्यारासुट प्रणाली काम गर्छ कि गर्दैन भन्ने विषयमा स्पष्टता छैन। यदि प्यारासुटले काम गरेन भने यान अनियन्त्रित धातुको बल झैं पृथ्वीमा खस्न सक्नेछ।
सन् २०१८ मा चीनको अन्तरिक्ष स्टेशन तियांगोङ–१ र २०२२ मा एक बुस्टर रकेट पनि पृथ्वीमा नियन्त्रणबाहिर खसेका थिए। ती घटनामा अधिकांश भाग समुद्रमा खसेका थिए र ठूलो क्षति भएन।