काठमाडौँ, – देशभर सक्रिय बनेको मनसुनसँगैको लगातारको वर्षाले मुख्य सडक मार्गहरूमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षाका कारण विभिन्न भेगका सडकहरू अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ भने यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी खण्डमा सडक अवरुद्ध बनेको छ।
सडकको संरचना भत्किएकोले तत्काल मर्मत कार्य थालिएको भए पनि ठूला सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। यसले चीनसँगको तातोपानी नाका जोड्ने मार्ग प्रभावित बनेको छ, जसको असर आयात–निर्यातको ढुवानीमा समेत परेको छ। उता, बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ मा रहेको भूमिथान खोलामा आएको बाढीका कारण सडक कटान हुँदा भारत सीमा (कक्रहवा) हुँदै रुद्रपुर, सालझण्डी, सन्धिखर्क, देवीस्थान हुँदै ढोरपाटन जान सकिने सम्पूर्ण सवारी आवागमन अवरुद्ध भएको छ।
यसले दैनिक यात्रा गर्ने सर्वसाधारण र स्थानीय व्यवसायलाई समेत ठूलो असर पारेको छ। काभ्रेपलाञ्चोक जिल्लामा बनेपा नगरपालिका–४ र १ जोड्ने झोलुङ्गे पुल शुक्रबार राति भत्किएपछि नाला–च्यामासिङ मार्ग पूर्ण रूपमा बन्द छ। वर्षाले ठाउँठाउँमा पहिरो खस्दा ६७ भन्दा बढी स्थानमा सडक एकतर्फी मात्र सञ्चालन भइरहेको सडक विभागले जनाएको छ।
यातायात अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने वैकल्पिक मार्गको अभावमा धेरैले बीच बाटोमै रात काट्नुपर्ने अवस्था आएको छ। स्थानीय तहदेखि सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास जारी राखे पनि लगातारको वर्षाका कारण उद्धार तथा मर्मतमा ढिलाइ भइरहेको जनाइएको छ।
सडक विभागका अनुसार जोखिमयुक्त स्थानहरूमा डोजर र इन्जिनियरहरूको टोली खटाइएको छ। यद्यपि, मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्जाल सुचारु गर्न कठिन हुने संकेत देखिएको छ। यात्रुहरूलाई आवश्यक परेमा यात्रा स्थगन गर्न तथा सुरक्षित विकल्प रोज्न आग्रह गरिएको छ।