नेकपा (एमाले) को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र सदस्यहरूबीच सवालजवाफ हुने गरेको छ। पार्टीका केही निर्णयहरू भइसकेपछि मात्र पदाधिकारीलाई थाहा हुने गरेको भन्दै सचिवालय सदस्यहरूले असन्तोष प्रकट गर्ने गरेका छन्। आइतबारको बैठकमा पनि सदस्यहरूले अध्यक्ष ओलीप्रति असन्तोष व्यक्त गरे। जवाफमा अध्यक्ष ओलीले केही पदाधिकारीहरूले स्वाभाविक विषयलाई अनुचित ढंगले सार्वजनिक रूपमा टिप्पणी गरेको बताएका थिए।
पदाधिकारीहरूले पार्टीका निर्णयबारे आफूहरूलाई पछि मात्रै जानकारी हुने अवस्था रहेको भन्दै नेतृत्वप्रति प्रश्न उठाएका थिए। प्रसंग थियो— केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी एमालेकी सांसद विद्या भट्टराईको गत वैशाख ८ गते स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएकी थिइन्। तर, एमालेका केही नेताहरूले उनलाई असहयोग र अविश्वासको शिकार भएको दाबी गर्दै स्वास्थ्य मात्र कारण नभएको बताएका छन्।
उनीहरू भन्छन्— जब प्रधानमन्त्री ओलीबाट सुरुदेखि नै असहयोग हुँदै आएको हो भने, स्वास्थ्यकै कारण राजीनामा दिएको भन्ने कुरामा कसरी विश्वास गर्न सकिन्छ? भट्टराईको स्थानमा अहिले एमाले सांसद रघुजी पन्त शिक्षा मन्त्री बनिसकेका छन्, तर यसबारे पार्टीभित्रको बहस अझै सकिएको छैन।
सचिवालयको आइतबारको बैठकमा पनि यो विषय उठेको एक पदाधिकारीले बताएका छन्। बैठकमा अध्यक्ष ओलीले विद्या भट्टराईले स्वेच्छाले राजीनामा दिएको तर पार्टीका केही जिम्मेवार नेताहरूले आफूमाथि असहयोगको आरोप लगाएको गुनासो गरेका थिए। अध्यक्ष ओलीको उक्त टिप्पणी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यप्रति लक्षित रहेको बुझिएको छ।
ओलीले भनेका थिए, विद्या भट्टराईलाई मन्त्री बनाउने निर्णय मैले नै गरेको हुँ। असहयोग गर्ने भए त मन्त्री नै बनाउने थिइनँ। उहाँले राम्रो काम गरिरहनुभएको थियो। शिक्षकहरूसँग संवाद पनि राम्रो चलेको थियो। उहाँकै पहलमा हालै सहमति जुटेको हो। तर, किन राजीनामा दिनुभयो, मलाई थाहा छैन। पार्टीकै जिम्मेवार साथीले प्रधानमन्त्रीले सहयोग गरेनन् भनेर प्रचार गर्नु गलत हो।
ओलीले भट्टराईको योग्यतामाथि पनि टिप्पणी गरेका थिए। उनले भनेका थिए, उहाँको त सांसद बन्ने मात्र योग्यता रहेछ, मन्त्री बनाउने निर्णय मैले गरेँ। भट्टराईको राजीनामाको भोलिपल्ट उपाध्यक्ष शाक्यले सामाजिक सञ्जालमार्फत भट्टराईको प्रशंसा गर्दै स्ट्याटस लेखेकी थिइन्— विद्या भट्टराई सक्षम, इमान्दार र उच्च नैतिकता भएकी नेता हुन्। शिक्षक आन्दोलन चलिरहँदा उहाँले राजीनामा दिनुपरेको हो। उहाँलाई सहयोग किन भएन? उहाँको राजीनामाले उहाँको नैतिक धरातल झन् उच्च बनाएको छ।
शाक्यको यो स्ट्याटसप्रति अध्यक्ष ओली आक्रोशित भएका थिए। त्यसपछि शाक्यले उक्त स्ट्याटस हटाएकी छन्। तर ओलीले सो विषयमा प्रश्न उठाउन छाडेका छैनन्। सचिवालय बैठकमै शाक्यसँग उनीहरूले सोधपुछ गरेका थिए। जवाफमा शाक्यले पार्टी नेतृत्वले पदाधिकारीहरूसँग भेटघाट र परामर्श बढाउनुपर्ने धारणा राखेकी थिइन्।
एक पदाधिकारीले भने, अध्यक्षले पदाधिकारीलाई भेट्नुपर्छ। निर्णयहरूबारे जानकारी दिनुपर्छ। तर अहिले जानकारी नहुँदै सार्वजनिक रूपमा टिप्पणी हुने अवस्था आएको छ। यसअघि संघीय संसद्को ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री ओलीले विद्या भट्टराईको राजीनामाबारे नेतृत्वमाथि अनर्गल आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।