काठमाडौँ, — संघीय संसद भवनमा रहेका प्रतिपक्षी दलहरू संसद अवरोध अन्त्य गर्ने उपायहरू खोज्न व्यस्त भएका छन्। आज नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप), एकीकृत समाजवादी लगायतका दलका प्रतिनिधिहरूबीच महत्वपूर्ण छलफल भएको छ।
बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत प्रमुख नेताहरू सहभागी थिए।
भिजिट भिसा विवादका कारण गृह मन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधि सभा लामो समयदेखि बैठक अवरुद्ध रहेको छ। यसै समस्या समाधान गर्न विभिन्न दलहरूबीच निरन्तर संवाद भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध हटाउने पाँच बुँदाको प्रस्ताव तयार पारेको छ र यसबारे साझा धारणा बनाउन आजका छलफलमा केन्द्रित भएको छ।
रास्वपाले उक्त प्रस्ताव सत्तारूढ नेपाली कांग्रेसलाई समेत हस्तान्तरण गरिसकेको छ। विपक्षी दलहरूले सत्तापक्षसँग छलफल गर्दै संसद बैठक खोल्ने वातावरण बनाउन प्रयासरत छन्।
प्रतिनिधि सभा आज दिउँसो १ बजेका लागि बोलाइएको छ। छलफलमार्फत सहमति कायम गरी संसदको कार्यबिधि पुनः सुचारु गराउने तयारी सबै पक्षले गरिरहेको जनाइएको छ।