एएफसी महिला एसिया कप २०२६ को छनोट चरण अन्तर्गत समूह ‘एफ’ मा आज नेपालले घरेलु टोली उज्बेकिस्तानसँग निर्णायक भिडन्त गर्ने छ। शनिबार राति ९:१५ बजे उज्बेकिस्तानको तास्केन्तमा हुने यस खेलमा नेपालले आफ्नो एएफसी महिला कपमा स्थान सुनिश्चित गर्न भिडन्त गर्नेछ। यो समुहको अवस्था निकै रोचक छ। नेपालले अघिल्ला दुई खेलमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली प्रदर्शन देखाएको छ।
त्यस्तै, उज्बेकिस्तानले पनि श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराउँदै समान ६ अंक जोडेको छ। दुबै टोलीले समान ६ अंक र समान गोल अन्तर (१७ गोल) बनाएको हुँदा शनिबारको खेल अत्यन्तै निर्णायक हुनेछ। समूहबाट केवल एक टोलीले एसियन कपको मुख्य चरणमा स्थान बनाउने भएकाले यो खेलको परिणामले ठूलो महत्त्व राख्ने छ।
यदि खेल बराबरीमा सकिन्छ भने, एएफसीका नियमअनुसार विजेता टिम पेनाल्टी सुटआउट मार्फत निर्धारण गरिनेछ, किनभने दुवै टोली हेड टु हेड र अन्य सबै मापदण्डमा बराबर छन्। फिफा महिला टोली वरीयता अनुसार उज्बेकिस्तान नेपालभन्दा एक कदम अगाडि छ। उज्बेकिस्तान ५१औं र नेपाल १००औं स्थानमा रहेको छ। इतिहासमा पनि उज्बेकिस्तानले नेपालमाथि दबदबा कायम गरेको छ।
पछिल्ला तीन खेलमा उज्बेकिस्तानले नेपाललाई पराजित गरेको छ र कुल ११ गोल गरेको छ भने नेपालले मात्र ३ गोल फर्काएको छ। सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा दुई पटक नेपाल र उज्बेकिस्तान भिडेका थिए। त्यहाँ समूह चरणमा नेपाल २–० ले र फाइनलमा ३–२ ले पराजित भएको थियो।
तर, यो पटक घरेलु मैदानको फाइदा र अनुभवी टोली भएको उज्बेकिस्तानलाई चुनौती दिने प्रयासमा नेपाली टोली तयार छ। उज्बेकिस्तान पाँच पटक एसियन कप खेलिसकेको र आगामी २०२९ मा महिला एसियन कपको आयोजना गर्ने राष्ट्र भएकाले यसपटक पनि उनीहरूको प्रदर्शन कडा हुनेछ। नेपालले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै इतिहासमा नयाँ अध्याय लेख्ने उद्देश्यले उज्बेकिस्तानसँग भिड्ने छ।