काठमाडौँ, — भारतको पश्चिमी सहर अहमदाबादमा भएको एक दर्दनाक विमान दुर्घटनामा कम्तीमा १०० जनाको ज्यान गएको पुष्टि गरिएको छ। दुर्घटनामा परेको जहाज एयर इन्डियाको एआई–१७१ फ्लाइट रहेको बताइएको छ, जसमा चालक दलका १२ सदस्यसहित जम्मा २४२ जना सवार थिए।
दिउँसो १:४० बजेतिर उडान भरेको उक्त बोइङ विमान सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनतर्फ जाँदै थियो। तर, उडेको केही मिनेटमै समस्यामा परेको जहाज करिब दुई मिनेटपछि दुर्घटनामा परेको हो। प्राप्त विवरणअनुसार, जहाजमा रहेका यात्रुहरूमा भारतका १६९ जना, बेलायतका ५३, पोर्चुगलका ७ तथा क्यानाडाका १ जना नागरिक थिए।
उक्त यात्रामा गुजरात राज्यका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए। उनी लन्डनमा बसोबास गरिरहेकी आफ्नी छोरीसँग भेट गर्न गइरहेका थिए भन्ने जानकारी प्राप्त भएको छ। स्थानीय बासिन्दाले जहाज उचाइ लिन नसकिरहेको दृश्य देखेका थिए। उडानपछिको छोटो समयमा जहाजले सन्तुलन गुमाउँदै तलतिर झरेको थियो।
अन्ततः विमान एक आवासीय भवनमाथि खसेको थियो, जुन डाक्टरहरूको आवासस्थल भएको जनाइएको छ। सो घटनामा सो भवनमा रहेका कम्तीमा १५ जना डाक्टर घाइते भएका छन्। विस्फोटको ठूलो आवाजसँगै आगलागी भएको थियो। आकाशमा बाक्लो धुवाँको मुस्लो देखिएको र दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको जनाइएको छ।
यो घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह तुरुन्तै अहमदाबाद प्रस्थान गरेका छन्। दुवै नेताको जन्मस्थानसमेत गुजरात नै भएकाले उनीहरू व्यक्तिगत रूपमा घटनाको अवलोकन गर्न गइरहेका छन्। एयर इन्डियाले प्रारम्भिक सूचना सार्वजनिक गरे पनि दुर्घटनामा परेकाहरूको स्थिति वा मृत्यु पुष्टि आधिकारिक रूपमा गरिएको छैन।
दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको जनाइएको छ। उद्धार टोलीले आगो नियन्त्रणमा लिएर शवहरू निकाल्ने कार्य गरिरहेको छ। निकालिएका शवहरूलाई अहमदाबादको सरकारी अस्पतालमा राखिएको छ।