काठमाडौँ – विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुर मुद्दामा विशेष सरकारी वकिलको कार्यालय काठमाडौँमा गएको साता तीन दिनसम्म बयान लिइएको छ। नेपाल राष्ट्र बैंकले ऋणको दुरुपयोगको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई गत माघ २३ गते पत्राचार गरेपछि सिआइबीले प्रसाईंमाथि अनुसन्धान सुरु गरेको हो।
बयानको क्रममा प्रसाईंले एक बैंकबाट लिएको ऋण अर्को बैंकमा लगानी गरेको स्वीकारेका छन्। सिआइबीका प्रमुख एवं एआइजी चन्द्र कुँवेर खापुङका अनुसार बयान लगभग सकिएको छ र कागजी प्रक्रिया पूरा गरेपछि थप बयान आवश्यक परे पुनः लिइने सम्भावना रहेको बताए।
सिआइबीको अनुसन्धानमा प्रसाईंले ९ वटा बैंक तथा वित्तीय संस्थाबाट विभिन्न मितिमा ऋण लिएको खुलेको छ। उनले गत असोज मसान्तसम्म सात अर्ब २५ करोड ८७ लाख रुपैयाँ ऋण लिएका थिए। यसमध्ये २७ करोड भन्दा बढी रकम राउण्ड ट्रिपिङको माध्यमबाट गलत कारोबार गरेको देखिएको छ।
प्रसाईंमाथि आरोप छ कि उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको, स्वार्थ बाझिने गरी आपासी पक्षसँग कारोबार गरेको र परियोजनाको लागत वृद्धि गरी आवश्यकभन्दा बढी ऋणको प्रयोग गरेको छ। यसका आधारमा नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेको थियो।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ दफा ८ अनुसार कर्जाको दुरुपयोग गर्न नहुने व्यवस्था छ। प्रसाईंले यही व्यवस्थाको उल्लंघन गरेको सिआइबीको भनाइ छ। यस कसुरमा बिगो रकम अनुसार कैद सजायको व्यवस्था छ। सिआइबीले प्रसाईंविरुद्ध कति बिगो रकम कायम गर्छ भन्ने खुलाएको छैन, तर बिगो रकम एक अर्ब रुपैयाँभन्दा बढी भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको प्रावधान रहेको छ।