नेपालले सिंगापुरलाई दुई विकेटले पराजित गर्दै एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न फाइनलमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका जोय थापा सर्वाधिक २४ रनसहित उत्कृष्ट प्रदर्शन गरे। उनले ५३ बलमा ३ चौका प्रहार गरे। सिवान्स बजगाईंले २०, सुभम खनालले १८, प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ रन बनाए भने अभय यादव १० रनमा अविजित रहे। बलिङतर्फ सिंगापुरका कपिस वेन्कटरमनले ४ विकेट लिए तापनि टिमलाई जित दिलाउन सकेनन्। युभव पाण्डेले २ विकेट, आकाश तेजा र वेदान्स गुप्ताले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। सिंगापुरका रोहन अस्टिन अरुनले सर्वाधिक २३ रन बनाएका थिए भने कप्तान रियान नाइकले १५, वेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन जोडे। नेपालका तर्फबाट अभय यादव र सुशीलबहादुर रावलले समान ३–३ विकेट लिए। सुभम खनालले २ विकेट तथा विपीनप्रसाद शर्माले १ विकेट हात पारे। नेपालले यसअघि समूह चरणमै सिंगापुरलाई ६ विकेटले हराएको थियो। अब नेपालको यो उपाधि जितले भविष्यका युबा खेलाडीहरूमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ। 🇳🇵🏆