अहमदाबाद, भारत – बिहीबार-लण्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको उडान नम्बर १७१ भारतको गुजरात राज्यस्थित अहमदाबाद शहरमा उडे लगत्तै दुर्घटनामा परेको छ। उक्त विमानमा दुई पाइलट र चालक दलसहित २४२ जना सवार थिए, जसको ज्यान गएको भारतीय अधिकारीहरूले जनाएका छन् विमान आवासीय क्षेत्रमा खसेको हुँदा जमिनमा समेत क्षति भएको छ। स्थानीय बासिन्दाहरूले भवनबाट हामफालेर ज्यान जोगाउने प्रयास गरेका थिए। एक स्थानीय बासिन्दाले भने, “हामीले दोस्रो र तेस्रो तल्लाबाट मानिसहरू हामफालेको देख्यौं, विमानमा ठूलो आगलागी भएको थियो।”
प्रधानमन्त्री मोदीको प्रतिक्रिया,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ। यो हृदयविदारक घटना हो जसले विश्वलाई नै झस्काएको छ।”
अन्तर्राष्ट्रिय प्रतिक्रिया,
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले पनि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै यो घटनालाई “विनाशकारी दृश्य” भनेका छन्।
विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ क्यानेडियाली यात्रु रहेको एयर इन्डियाले जनाएको छ।
दुर्घटनाको क्षण,
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले ‘मे डे’ संकेत (आपतकालीन सूचक) पठाएको केही मिनेटमै विमानस्थलको नजिकै दुर्घटना भएको थियो। विमानको पछाडिको भाग भवनमा ठोक्किएको र त्यसपछि आगलागी भएको पुष्टि भएको छ। घटनास्थल नजिकै रहेका अस्पताल र क्याम्प क्षेत्रमा उद्धार टोली परिचालित गरिएको छ।
शवको अवस्था चिनिन नसक्ने,
स्थानीय पुनम पटनीले एएफपीसँग भनिन्, “जब हामी घटनास्थलमा पुग्यौं, त्यहाँ धेरै शवहरू थिए। धेरै शवहरू यति जलेका थिए कि पहिचान गर्नै सकिने अवस्था थिएन।” यो दुर्घटना पछिल्लो समयको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक हो। भारत शोकमा डुबेको छ, र विश्वभरबाट श्रद्धाञ्जलीहरू आउन थालेका छन ।