काठमाडौं, — नेपाली सेयर बजारले आइतबार महत्वपूर्ण मनोवैज्ञानिक अवरोध पार गर्दै २६ सय अंकमाथिको नयाँ उचाइ छोएको छ। पछिल्ला दिनहरूमा २६ सयको वरिपरि अड्किएको नेप्से परिसूचक आइतबार २६.५३ अंकले उकालो लागेको हो। कारोबार बन्द हुँदा नेप्से २६२२ विन्दुमा पुगेको थियो। लगानीकर्ताहरूबीच केही समयदेखि २६ सय विन्दुमा बजार रोकिएको चिन्ता बढ्दै जाँदा आइतबारको उचालले बजारमा नयाँ उत्साह थपेको देखिन्छ।
यद्यपि, सूचकांक बढे पनि दैनिक कारोबार रकम भने अलिक घटेको देखिन्छ। बिहीबार ७ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतबार त्यो घटेर ७ अर्ब १२ करोडमा झरेको छ। बजार विश्लेषकहरूको बुझाइमा असारमसान्तको दबाब विस्तारै घट्दै गएको संकेत देखिएको छ। एक ब्रोकर भन्छन्, “हालको बढोत्तरी हेर्दा असारमसान्तको ऋण समायोजनको प्रभाव कमजोर हुँदै गएको बुझिन्छ।
यदि यही प्रवृत्ति रह्यो भने महिनाको अन्त्यसम्म बजारमा हरियाली देख्न सकिन्छ। त्यसपछि भने कम्पनीहरूले सार्वजनिक गर्ने वित्तीय विवरणले बजारलाई अर्को दिशा दिनेछ।” असार महिनामा बैंक तथा वित्तीय संस्था कर्जा असुलीमा कडाइ गर्ने भएकाले सेयर बिक्रीको चाप देखिने गर्छ। सेयर धितोमा ऋण लिएका लगानीकर्ताहरूले किस्ता तिर्न दबाब महसुस गर्ने हुँदा बजारमा घटाउको सम्भावना पनि रहन्छ। तर, अहिलेको बढोत्तरीले त्यो चरण सकिएको संकेत गरेको छ।
केही जानकार लगानीकर्ताहरूको धारणा अनुसार त्रैमासिक अन्त्यमा सेयर मूल्य गिरावट आएमा धितो बढाउनुपर्ने अवस्थाबाट जोगिनका लागि पनि मूल्यमा सुधार देखिएको हो। यस अवधिमा मूल्यलाई घट्न नदिने प्रयास भइरहेका छन् भन्ने संकेत देखिन्छ। आइतबार कुल ३२८ कम्पनीको सेयर कारोबारमा आएको थियो। जसमध्ये २३८ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ८१ को मूल्यमा गिरावट आएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा उच्च ९.९९ प्रतिशतको वृद्धिदरसहित सर्किट ब्रेक लागेको हो। कम्पनीको सेयर मूल्य अन्तिम कारोबारमा १,०९५ रुपैयाँ पुगेको छ। उता, जोशी हाइड्रोपावरको सेयरमा सबैभन्दा बढी गिरावट देखियो। कम्पनीको मूल्य ५.५७ प्रतिशतले घटेर ३२७ रुपैयाँमा ओर्लिएको छ।
कारोबारको हिसाबले साहास उर्जा अग्रपंक्तिमा रह्यो। कम्पनीको कुल ५७ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। बजारको हालको लयले लगानीकर्तामा पुनः उत्साह फर्किरहेको संकेत दिएको छ। यदी यही गति कायम रह्यो भने असारको अन्त्यसँगै बजार थप चलायमान हुने आशा गर्न सकिन्छ।