एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले राम्रो सुरुवात गरेको छ। मलेसियाको यूकेएम वाइएसडी ओभल मैदानमा टस जितेर सिङ्गापुरले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। तर नेपालले सुरुवातमै विकेट लिँदै सिङ्गापुरलाई ठूलो स्कोर बनाउन नदिने संकेत दिएको छ।
नेपालले खेलको १२ ओभरभित्रै सिङ्गापुरका ६ जना खेलाडीलाई आउट गरिसकेको छ। पावरप्ले अवधिमै नेपालले ४ विकेट लिएर खेलमा राम्रो पकड बनाएको थियो। नेपालका तर्फबाट सुशील रावलले ३ विकेट लिएका छन् भने अभय यादवले २ विकेट लिए। एक ब्याट्सम्यान रन आउट भएका छन्।
१३ ओभर सकिँदासम्म सिङ्गापुरको स्कोर ५४ रन पुगेको छ। नेपाल यसअघि घरेलु टोली मलेसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। उता, सिङ्गापुरले सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। समूह चरणको खेलमा पनि नेपालले सिङ्गापुरलाई ६ विकेटले हराएको थियो, जसले नेपाली टोलीलाई आजको खेलमा आत्मविश्वास बढाएको छ । यही प्रतियोगिता अन्तर्गत आज तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ।