देशभर पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। यस क्रममा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले हल्का वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।